Loading... 14 July 2020|   मंगलबार, असार ३०, २०७७   

सुर्खेतका नौ वटै स्थानीय तहको बजेट सार्बजनिक, सबैको कोरोना भाइरस नियन्त्रणमा जोड

  |  317 Views

सुर्खेत । सुर्खेतका नौ वटै स्थानीय तहले बुधबार नयाँ आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गरेका छन् । यसपटकको बजेटमा सबै स्थानीय तहले कोरोना भाइरस नियन्त्रणलाई जोड दिएका छन् ।

सुर्खेतका सबै स्थानीय तहले बुधबार नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । स्थानीय तहले रोजगारी सिर्जना, महामारी नियन्त्रण र कृषि उत्पादनलाई प्राथमिकतामा राखेका छन् । नौ वटै स्थानीय तहले बुधवार ल्याएको २०७७÷७८ को बजेटमा कोरोना महामारी नियन्त्रण, रोजगारी र कृषि उत्पादनलाई प्राथमिकता दिएका हुन् ।

नयाँ आर्थिक वर्षका लागि एक अर्ब ४२ करोड ९९ लाखको बजेट ल्याएको वीरेन्द्र नगरपालिकाले चालुतर्फ ९० करोड ४० लाख र पूँजितगतर्फ ५१ करोड ६७ लाख बजेट विनियोजन गरेको छ । कार्यवहाक नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि पाँच करोड भन्दा बढी रकम छुट्याएको जानकारी दिनुभयो ।

त्यस्तै, जिल्लाको चौकुने गाउँपालिकाले ४३ करोड ८० लाख २६ हजार चार सय ८० रुपैयाँ बजेट ल्याएको छ भने पञ्चपुरी नगरपालिकाले ६९ करोड, १९ लाख, ७७ हजार एक सय ३३ रुपैयाँ बजेट ल्याइएको छ । उममेयर मुक्तिदेवी रेग्मीका अनुसार कोरोना नियन्त्रण, रोजगारी सिर्जना र कृषिमा समान एक करोड पचाल लाख रुपैयाँ छुट्याइएको छ ।

भेरीगंगा नगरपालिकाले ६२ करोड ८८ लाख ६५ हजार सात सय दुई रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकको विवरण रोजगार सुचना केन्द्रमा अद्यावधिक गरेर उनीहरुलाई निर्माण, सेवा, व्यवसाय, कृषि, उद्योग लगायतका क्षेत्रमा लगाउने जनाएको छ ।

त्यस्तै गुर्भाकोट नगरपालिकाले ६३ करोड दुई लाख १७ हजारको बजेट ल्याएको छ । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले नगरको ६० प्रतिशत बजेट कोरोना महामारी नियन्त्रण, भौतिक पूर्वाधार विकास र रोजगारीमा केन्द्रित रहेको बताउनु भयो । नयाँ आर्थिक वर्षभित्र नगरपालिकाले चारवटा वडा कार्यालयको भनव निर्माणका लागि बजेट बिनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

लेकबेशी नगरपालिकाले ६० करोड ४० लाख ७६ हजार दुई सय २२ रुपैयाँको बजेट विनियोजन गरेको छ । बजेट मध्ये चालु खर्चतर्फ ३९ करोड ११ लाख ४४ हजार ३ सय ९२ रुपैयाँ र पूँजीगत तर्फ २० करोड ५६ लाख २९ हजार १५ रुपैंयाँ र विकास साझेदार संघसस्थाहरुको कार्यक्रम वापत ७३ लाख २ हजार आठ सय १५ रुपैयाँ रहेको छ ।

बराहताल गाउँपालिकाले ४८ करोड चार लाख ३७ हजारको बजेट ल्याएको छ । बराहताल गाउँपालिकाले पूर्वाधार निर्माणमा मेसिन प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । जनशक्तिबाट असम्भव हुने बाहेक पूर्वाधार निर्माणका काममा मेसिन प्रयोगमा प्रतिबन्ध लगाइने भएको हो ।

सिम्ता गाउँपालिकाले पनि नयाँ आर्थिक वर्षका लागि ४५ करोड ६० लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले नयाँ आर्थिक वर्षमा पालिकाले रोजगारी सिर्जना गर्नका लागि एक करोड बजेट छुट्याइएको जानकारी दिनुभयो । सिम्ताले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि दुई करोड बजेट विनियोजना गरेको छ ।

चिङ्गाड गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि ३४ करोड ९६ लाख २७ हजार दुईसय १७ रुपैयाँको बजेट ल्याएको छ । उत्पादन बढाउन र नागरिकलाई कृषि पेशाप्रति जागरुक बनाउन चिङ्गाड गाउँपालिकाले उत्कृष्ट किसानलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ । ‘एक वडा, एक कृषि पकेट क्षेत्र’ कार्यक्रम अन्तरगत उत्कृष्ट किसानलाई एकलाख रुपैयाँको अध्यक्ष कृषक पुरस्कार’ बाट सम्मानित गरिने गाउँपालिकाले जनाएको छ ।

कोरोना महामारीका समयमा पनि सबै स्थानीय तहहरुले आर्थिक वर्षको बजेट ल्याउदा नागरिक खुसी भएका छन् । बजेटले समेटेको कृषि, रोजगारी र कोरोना नियन्त्रणका कार्यक्रम नागरिक स्तरसम्म पुग्न सकोस् ।

प्रकाशित मितिः बिहीबार, असार ११, २०७७     7:24:46 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *