सुर्खेत, जेठ ११ । नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले उद्धारका नाममा राज्यको सम्पत्ति सकेर आफूले आफ्नै निजी सम्पत्ति खर्च गरेर उद्धार गरेजस्तो प्रचार कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीले गरेको आरोप लगाएका छन् ।
कर्णाली प्रदेशसभाको अधिवेशनमा बोल्दै नेता शाहीले राज्यको सम्पत्ति सकेर श्रीमती र आफ्नो खाताको पैसा दिएर उद्धार गरेको जस्तो प्रचार गरेको आरोप लगाए ।
‘तपाईं आफ्नी श्रीमतीको खाताको पैसा, तपाईंको खाताको पैसा दिएर उद्धार गर्नुभएको भएको हो ?,’ उनले प्रश्न गरे, ‘तपाईं मन्त्री हो । तर, राज्यको सम्पत्ति सकेर आफूले गरेको जस्तो शान देखाउने ?’
प्रदेश सरकारले कोरोना नियन्त्रणभन्दा हेलिकाेप्टर मोहमा लागेको नेता शाहीको आरोप थियो । ‘सरकारले बाढी, भूकम्प आएजस्तो गर्न थाल्यो,’ उनले भने, ‘हेलिकाेप्टर लिएर ठाउँठाउँमा भाषण गर्यो । हुम्लामा अबिर जात्रा भयो ।’
उनले भने, ‘जुम्लामा भित्र भाषण गरियो, बाहिर आएर किन सेल्फी हानियो ? यसरी कोरोना नियन्त्रण हुन्छ सरकार ?’
अहिले सरकारले राम्रो काम गर्न नसक्दा गलत दृष्टिकोण निर्माण गर्ने काम हुँदै गएको शाहीको भनाइ छ ।
कर्णाली प्रदेश सरकारले कसैको कुरा नसुनेको, आफूले सबै जानेको जस्तो विज्ञता हासिल गरेको नेता शाहीले बताए । ‘हाम्रो सरकार यस्तो विज्ञता हासिल गरेको छ । यसले कसैको कुरा सुन्दैन्,’ उनले भने, ‘दैनिक मिटिङ भइरहेको छ । स्थानीय तहमा दिएको कोरोना नियन्त्रण रोकथामको रकम कता गयो त्यसको खोजी गर्न जरुरी छ ।’
सीमा नाकामा रहेका नेपालीलाई चाँडै ल्याउनुपर्ने शाहीले बताए । ‘दुई महिना लकडाउनको बेला मजदुर, गरिबीको रेखामा रहेकाहरूलाई राहतको व्यवस्था गर्न जरुरी छ ।
कोरोनाको परीक्षण गर्ने मेसिन भए पनि त्यसका लागि चाहिने मेडिकल सामान आवश्यक रहेको शाहीले बताए ।
शाहीले लिपुलेक समेटेको विषयमा नक्सा पास हुनु निकै सह्रानीय काम भएको बताएका छन् । कर्णाली प्रदेशसभाको अधिवेशनमा प्रतिपक्षी नेता शाहीले राष्ट्रियता प्रति सबै एकजुट हुनुपर्ने बताएका हुन् ।
त्यसका लागि कर्णाली प्रदेश सरकारले समेत संकल्प प्रस्ताव पेस गर्नुपर्ने शाहीले बताए । ‘कर्णाली प्रदेश सरकारले एउटा संकल्प प्रस्ताव पास गरोस्,’ उनले भने, ‘राष्ट्रियतका पक्षमा सबै एकमत हुन जरुरी छ ।’
उद्धारका नाममा विचौलियाले व्यापार गरेः नेता कँडेल
प्रदेशसभाको अधिवेशनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता यामलाल कँडेलले बन्दाबन्दीलाई निश्चित मानिसहरूले कमाउने भाँडो बनाएको बताए ।
अहिले सरकारका नजिकका मानिसहरूले उपकारका नाममा अकुत सम्पत्ति जोडेको उनको भनाइ छ ।सामाजिक विसंगति, विकृति बढ्दै गएको भन्दै उनले यसको नियन्त्रणमा सबैले लाग्नुपर्ने बताए ।
उनले कठिन घडीमा आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । अहिले कोरोना कहरले देश कठिन अवस्था रहेको बेला कर्णाली प्रदेश सरकारले गहन जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ ।
अहिले क्वारेन्टाइन बनाएर सुरक्षा दिने व्यवस्था मिलाउनुपर्ने कँडेलको माग छ । ‘क्वारेन्टाइनको सुरक्षा आवश्यक छ,’ उनले भने, ‘अहिले जहाँ क्वारेन्टाइनमा मान्छे राखिएका छन् । त्यहाँ सुरक्षा छैन । जहाँ क्वारेन्टाइनमा एक जना पनि छैन, त्यहाँ सुरक्षा कडा छ ।’
बेलैमा सरकारले निर्णय गर्न नसक्दा समस्या आएको कँडेलले बताए । ‘क्वारेन्टाइन सञ्चालनको विधिमा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘क्वारेन्टाइन व्यवस्थित बनाउन आवश्यक छ ।’
सांसदको गुनासो : मलाई त यति हेप्नुहुन्छ, जनतालाई कति हेप्नुहुँदो हो ?
कर्णाली प्रदेशसभाको छैटाैँ अधिवेशनमा सम्बोधन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता सुशीला शाहीले प्रदेशसभामा आफूलाई हेपेको गुनासो गरेकी छन् ।
उनले संसदमा सम्बोधन गर्दै उनले मलाई त यति अपहेलना गरेर हेप्नुहुन्छ, जनतालाई तपाईंहरूले कति हेप्नुहुँदो हाे भनेर प्रश्न गरेकी छन् ।
प्रदेशसभाको उद्घाटन सत्रमा बोल्दै आफूसँग परामर्श नै नगरी अन्तिम कुर्सीमा राखिएको प्रति शाहीले आपत्ति जनाएकी हुन् ।
आफू एउटा पार्टीको संसदीय दलको नेता भएको भन्दै उनले पार्टी सानो भए पनि समान व्यवहार संसदमा हुनुपर्नेमा आफूले त्यो नपाएको शाहीले बताइन् ।
‘मेरो दल सानो होला । म समानुपातिकबाट आएकी महिला सांसद हुँ । पार्टी सानै भए पनि संसदीय दलको नेता त हुँ नि,’ उनले भनिन्, ‘तपाईंहरू मलाई यसरी हेपेर पछाडि राख्नुहुन्छ भने जनतालाई के गर्नुभएको होला ?’