सुर्खेत, ११ बैशाख । अब कर्णाली प्रदेशमा कोरोनाको परिक्षणले तिब्रता पाउने भएको छ ।
कोरोना भाइरस (कोभीड–१९) को नमुना परिक्षण गर्न थप दुई मेसिन कर्णालीमा ल्याइए संगै अब परिक्षणले तिब्रता पाउने भएको हो । केन्द्र सरकारले पठाएको रियल टाइम पीसीआर मेशीनसहित विशेषज्ञ टोली र स्वास्थ्य सामग्रीहरु बिहीबार हेलिकोप्टर र विमान मार्फत सुर्खेत ल्याइएको हो ।
कर्णाली ल्याएका मेसिन सुर्खेत र जुम्लामा राखिने जनाइएको छ । स्वाब परीक्षणमा ढिलाइ भएपछि थप मेसिन सुर्खेत ल्याइएको हो । यसअघिको कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा रहेको मेसिनले दैनिक १५ जनाको मात्रै स्वाब परीक्षण गरिँदै आएको थियो । सुर्खेतमा ल्याएको मेसिन पुशपन्छी रोग अन्वेषण प्रयोगशालाको भवनमा राखेर सञ्चालनमा ल्याइने छ । सुर्खेतमा राख्ने मेसीनले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।
सुर्खेतमा रहेको प्रयोगशालाले चाप धान्न नसक्दा कर्णालीका विभिन्न जिल्लाहरुबाट संकलन गरिएका स्वाबहरु परीक्षणका लागि धनगढी र कठमाडौं पठाउने गरिएको थियो । नयाँ मेसिन आएसँगै कोरोनाको आशंका गरिएका स्वाबहरुको परीक्षणमा तिव्रता आउने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।