Loading... 30 November 2020|   सोमवार, मंसिर १५, २०७७   

कर्णाली प्रदेशमा बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रम शुरु

  |  299 Views

पुष १, सुर्खेत । कर्णाली प्रदेश सरकारले आजबाट बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रम शुरु गरेको छ । लैङ्गिक समानता र छोरीहरूको सशक्तिकरणका लागि चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र वजेटमा प्राथमिकता प्राप्त ‘वैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम मंगलबार कालिकोट जिल्लाबाट कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीका छोरीको सामाजिक न्यायका लागि सरकारले यो विशेष कार्यक्रम ल्याएको बताए। मुख्यमन्त्री शाहीले महिला तथा दलित लक्षित परीक्षण परियोजना पनि सरकारले अगाडि बढाएको बताए। मूलत: प्रदेश सरकार फुटकर योजनातिर नभई  दीर्घकालीन रुपमा प्रभाव पार्ने ठोस योजना निर्माणतर्फ केन्द्रीत भएको शाहीले दावी गरे।

‘यो कार्यक्रमले छोराकै निम्ति गर्भमै छोरीको भ्रूण हत्या गर्ने आमाहरूलाई हिंसामा पार्ने र छोरी भएर जन्मेकोमा आत्मग्लानी गर्ने गलत संस्कृतिको अन्त्य हुनेछ’, शाहीले भने, ‘यसबाट अब छोराछोरी बराबरी हुन भन्ने सन्देश प्रवाह हुने र छोरी जन्मदा खुशी बन्ने संस्कारको बिजारोपण हुनेछ।’

कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले मानव पुँजी विकासमा प्रदेश सरकार निरन्तर लागेको बताए। उनले चालु आर्थिक वर्षको साउन १ गतेदेखि जन्मेका छोरीका निम्ति पहिलो किस्ता वापत् तीन करोड ८४ लाख प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण गरिसकिएको बताए। उनले एक घरका दुई बालिकालाई खाता खोल्न एकहजार र प्रति महिना पाँच सयका दरले २० वर्षसम्म सरकारले बचत गरिदिने जानकारी दिए। यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भौतिक पूर्वाधारको काममा आफैँ खटिएको छ।

आफ्नो गृहजिल्ला कालीकोटको सदरमुकाम मान्मको निर्माणाधीन चक्रपथमा मंगलबार श्रम संस्कृति बसाल्न श्रम दिवसको समेत शुरुआत गर्दै मुख्यमन्त्री शाहीले श्रमको सम्मान गर्न श्रम दिवस मनाउने कार्यको थालनी गरिएको बताए।

शाहीले प्रदेश समन्वय परिषदबाट यहाँका ७९ वटै स्थानीय सरकारहरूलाई श्रम नीतिअनुसार कार्ययोजना बनाई काम गर्न निर्देशन दिइएको बताए।

प्रकाशित मितिः मङ्लबार, पुस १, २०७६     7:58:47 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *