
सुर्खेत, ३० चैत्र । सुर्खेत क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य नवराज रावतले प्रदेश सरकारलाई सधैं सङ्घीय सरकारले पर्याप्त बजेट दिन्छ भन्नेमा विश्वास नगर्न सुझाव दिएका छन् ।
वीरेन्द्रनगरमा शनिवार आयोजित पत्रकारसंग अन्तकृया कार्यक्रममा सांसद रावतले प्रदेश सरकार स्वयंलाई आम्दानीका स्रोत वृद्धि गर्नतर्फ लाग्न आग्रह गरेका हुन् ।
प्रदेशले स्थानीय जनप्रतिनिधिलाई विश्वास नगरेको गुनासो सुनिन थालेको भन्दै उनले स्थानीय सरकारलाई विश्वास गर्नुको विकल्प नभएको बताए । ‘कहाँ, कुन पार्टीले जितेको छ ? भनेर हिसाब–किताब गरेर बजेट विनियोजन गर्ने हो विकासबाट हाम्रै गाउँ–ठाउँ पछाडि पर्ने निश्चित छ्’, उनले भने, ‘विगतमा यस्तै प्रवृतिले विकास हुन सकेन, अब पूर्वागह्री मानसिकता राख्यौं भने विकासको गति धकेलिनेछ ।’ सांसद रावतले वीरेन्द्रनगरस्थित साबिकको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रदेशलाई हस्तान्तरण गरिँदा व्यवस्थापनमा समस्या देखिएको बताए । उनले भने, ‘प्रदेश आफूले व्यवस्थापन गर्न सक्ने पूर्ण क्षमताको आधार तय नहुँदै ठूला आयोजना एवं ठूला संरचनाहरुको जिम्मा लिनुहुँदैन ।’
उनले सुर्खेत क्षेत्र नं २ मा हाल १ अर्ब ५१ करोड बढीको वजेट कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । रत्न राजमार्ग (सुर्खेत कोहलपुर सडक) चार लेनको बनाउने, विद्युत विस्तार लगायतका योजनालाई प्राथमिकतामा राखेको सांसद रावतको भनाई थियो ।