Loading... 16 May 2021|   आइतवार, जेष्ठ २, २०७८   

गाउँ जागरण अभियानमा महामन्त्री खड्का

  |  1260 Views

शुक्रबार बिहान पञ्चपुरी नगरपालिका वडा नं. ८, दुलालथाइस्थित लक्ष्मी सुनारको घरमा खाना खाएपछि भाँडा धुँदै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, साथमा केन्द्रीय सदस्य जीवनबहादुर शाही। 

चैत २९, सुर्खेत । शुक्रबार बिहान लक्ष्मी सुनारको घरमा नयाँ पाहुना बनेर गए– नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का । जातीय छुवाछुतको जाँतोमा पिल्सिएको समाजमा कथित उपल्लो जातको, त्यसमाथि वर्षौंदेखि रेडियो टिभीमा देखे/सुनेका नेता, घरमै खाना खान आउँदा खुसीको सीमा रहेन लक्ष्मीको। ‘उहाँ गाउँमा आउने कुरा त हिजो नै सुनेका थियौं, तर मेरै हातले पकाएको खाना खानुहोला भन्ने त सोचेकै थिइनँ,’ उनले भनिन् ।

लक्ष्मी अझ बढी त्यतिबेला चकित परिन्, जब खड्का आफै आफूले खाएको भाँडा धुन धारामा गए। उनले पाहुनालाई ‘देवता’ भन्दै भाँडा धुन रोक्न खोजिन्। तर, खड्काले उल्टै लक्ष्मीलाई सम्झाउँदै भने– ‘हाम्रो जुठो तपाईंलाई धुवाउनु पाप हो, मिठो खाना खुवाउनु भयो, धन्यवाद।’

खड्कासँगै गएका कांग्रेस केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभाका प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, पूर्वराज्यमन्त्री तप्तबहादुर विष्टलगायतका पाहुनाले पनि खड्काकै व्यवहार पछ्याए। ‘दाइ (खड्का) सादगी र स्वच्छ नेतामात्र होइन, समाजको लागिसमेत अनुकरणीय व्यवहारवादी अभियन्ता हुनुहुन्छ,’ पूर्व राज्यमन्त्री बिष्टले भने, ‘उहाँको व्यवहारलाई हामीले अनुशरण गर्न सक्यौं भने समाज परिवर्तनमा टेवा पुग्न सक्छ ।’

पूर्वगृहमन्त्रीसमेत रहेका खड्का पार्टीको महामन्त्री भएपछि पहिलोपटक गाउँबस्ती भ्रमणमा पुगेका छन्। सुर्खेतका छिन्चु, लेखपराजुललगायत गाउँको भ्रमण सकेर बाबियाचौर पुगेका खड्काले वैशाख पहिलो सातासम्म कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण तालिका बनाएका छन् ।

महामन्त्री खड्काले भ्रमणलाई राजनीतिक र सामाजिक जागरणको रुपमा लिएका छन् । उनी भ्रमणको क्रममा गाउँ/जिल्लामा पुग्दा होटलमा बस्दैनन् । स्थानीय नेता–कार्यकर्ताका घरमा बास बस्छन् । दलित, जनजातिलगायत सीमान्तकृत समुदायको घरमा बास बस्ने उनको स्वभाव छ ।

महामन्त्री खड्कासमेत अहिले कसैलाई गाली गर्ने समयको नभएको, बरु समाज रुपान्तरणको लागि मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँछन् । उनले कांग्रेसले एउटा चुनाव हार्दैमा आत्तिनुपर्ने अवस्था नभएको बताए । ‘हामीले हाम्रा गल्ती–कमजोरी के छन्, तिनलाई सच्याएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘एकले अर्कोलाई गालीगलौज गरेर समय खेर फाल्ने समय होइन, बरु जनताका पीरमर्का र उनीहरुको आवाज सुनेर नयाँ सोचका साथ अघि बढ्ने समय हो ।’

प्रकाशित मितिः शुक्रबार, चैत्र २९, २०७५     7:31:20 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।