Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

चार वर्षपछि गुराँसेमा चार इन्च हिउ

  |  1984 Views

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाको गुराँसेमा चार वर्षपछि चार इन्च हिउ परेको छ । कर्णालीका हिमाली जिल्लाहरुमा यसअघि नै हिमपात भएपनि दैलेखको गुराँसे र सुर्खेतको रातानाङ्गलामा बिहिबारदेखी हिउ पर्न शुरु गरेको हो ।

मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको रातानाङ्गला र दैलेखको गुराँसे आसपासमा चार वर्षपछि मात्रै ठूलो मात्रामा हिमपात भएको छ । हिउ परेसंगै वीरेन्द्रनगरदेखी रानीमत्ता, रातानाङ्गला र गुराँसेमा हिउ हेर्न जानेको लर्को लागेको थियो । बाक्लो मात्रामा परेको हिउका कारण झण्डै दुईहजार बढी गुराँसे आएको स्थानीयको दावी छ ।

‘यति धेरैको संख्यामा गुराँसे आउनेहरु पहिलो पटक हो’ स्थानीय देविसरा कठायतले भनिन् ‘विगतको वर्षभन्दा यो वर्ष हिउ हेर्न आउनेको संख्या उल्लेख्य देखियो ।’ पहिलो पटक हिउ देखेको बताउने वीरेन्द्रनगरका निशा सोनीले हिउसंग रमाउँदा अति नै खुसी लागेको प्रतिक्रिया दिइन् ।

‘हिउ परेको भिडियोमा मात्रै हेर्ने गरेको थियो तर पहिलो पटक साथीहरुसंग हिउसंग खेल्न पाउँदा खुसीको सीमानै छैन’ सोनीले भनिन् । शनिवार हिउ हेर्न गएपछि सुर्खेत–दैलेख सडक खण्डको रानीनाङ्गलामा झण्डै तीन किलोमिटरसम्म सवारी जाम भएको थियो । झण्डै दुई घण्टापछि सुर्खेतबाट गएको प्रहरी टोलीले जाममा परेका सवारीहरुलाई गन्तव्य पठाएको थियो ।

विगतमा पनि गुराँसेमा हिउ पर्ने गरेको थियो । तर यो पटक विगतभन्दा बढी हिमपात भएको मध्य तथा सुदूपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जानकारी दिए । उनका अनुसार गुराँस मात्रै नभई तल्लो तटियक्षेत्र रानिमत्ता, निगलपानी, धरमपोखरा आसपासमा पानी हिउ परेको छ । शनिवार राती र आइतबार विहानसम्म उच्च हिमालमासहित यी क्षेत्रमा थप हिमपात हुनसक्ने सापकोटाको भनाई छ ।

हिमपातले कृषक उत्साही
कर्णालीका उच्च हिमाली जिल्लाहरुमा दोस्रोपटक बाक्लो हिमपात हिउँले तरकारी खेतीलाई फाइदा पु¥याउने कृषकहरुको भनाई छ । सुरु भएको हिमपात अहिले पनि जारी छ । यस पटकको हिमपातले डोल्पा, हुम्ला, मुगु, जुम्ला, कालिकोट लगायतका जिल्लाका कृषकहरुले आफ्नो आर्थिकोपार्जनमा सहयोग पुग्ने बताएका छन् ।

पुसको अन्तिम र माघको पहिलो हप्तामा परेको हिमपातलाई उनीहरुले शुभ वर्षको रूपमा लिएका छन् । लगातारको हिमपातले हुम्ला र डोल्पाको हवाई यातायातको प्रभावित भएको छ ।

विमानस्थलमा बाक्लो हिउँ जमेपछि बुधबार पनि नेपालगन्ज र सुर्खेतबाट हुने कुनै पनि हवाई उडान भएका छैनन् । राम्रोसँग घाम लागेर हिउँ नपग्लेसम्म उडान हुने सम्भावना नभएको नेपाल नागरिक उड्डयनले जनाएको छ ।

विमानस्थल बन्द भएपछि यात्रुहरू अलपत्र भएका छन् । लगातारको हिमपातपछि डोल्पाका विभिन्न क्षेत्रमा राखिएका मोबाइल टावरहरुसमेत आंशिक रुपमा अवरुद्ध छन् । लगातारको हिमपात पछि उच्च हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मितिः शनिबार, माघ १२, २०७५     7:34:50 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *