Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

भेरी बबईको प्रगति २५ प्रतिशत

  |  492 Views

सुर्खेत– राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कामले तीव्रता पाएको छ । नेपालमै नयाँ प्रविधिको टनेल बोरिङ मेसिन (टिवीएम)ले दुई महिनाको अवधिमा १७ सय ९४ मिटर सुरुङ खनिसकेको छ । गत कात्तिकको पहिलो साताबाट सो मेसिनले सुरुङ खन्ने काम गरेको थियो । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ५ हात्तीखालदेखि सुरु भएको सुरुङ शनिवारसम्म करिव हेर्रे नजिक आइसकेको आयोजनाले जनाएको छ । हर्रेसम्मको दुरी २१ सय मिटर रहेको छ ।
आयोजनाका सिनियर डिजिभनल इन्जिनियर रुक्मांगद खनालका अनुसार सुरुङ सुरुको डेढ सय मिटर मानिसले खनेको र बाँकी १६ सय ४४ मिटर टिविएम मेसिनले खनेको छ । हिजोआज दैनिक १५ देखि २० मिटर सुरुङ खन्ने काम भइरहेको छ । करिव ६ सय नेपाली र ८४ जना चिनियाँ प्राविधिक तथा कामदारहरुले अहिले चौवीसै घन्टा काम गरिरहेको सिडिई खनालले बताउनुभयो । यही रफ्तारमा काम भएमा लक्ष्यभन्दा अगाडि नै सुरुङको काम सकिने दावी उहाँले गर्नुभयो । आगामी सन् २०२० को मार्चसम्म सुरुङ सम्वन्धी सवै काम सक्ने लक्ष्य लिइएको छ ।
सिडिई खनालले कूल १२ किमी सुरुङमध्ये छिन्चुको तोलीखोला नजिक (६ किमीमा) केही चुनौती आउन सक्ने औंल्याउनुभएको छ । जतिजति सुरुङ भित्र खनिदैंछ, त्यति त्यति चुनौती थपिएको भन्दै उहाँले ६ किमीको तोलीखोलामा हिलोमाटो हुनसक्ने सम्भावना भएको हुँदा केही बढी जटिलता आउनसक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, कडा चट्टान भएमा केही फरक पर्दैन तर लेदोमाटो भएमा चुनौती बढ्न सक्छ । यसै चालु आर्थिक बर्षको अन्त्यसम्म तोलीखोलासम्म ६ किमी सुरुङ खनिसक्ने दावी सिडिई खनालले गर्नुभएको छ ।

 

बजेटको अभाव हुनसक्ने

काम तीव्र गतिमा भइरहेकोले बजेटको अभाव भने हुनसक्ने खतरा देखिएको छ । चालु आर्थिक बर्षमा आयोजनालाई बिनियोजन गरिएको ६९ करोड बजेट सकिएको छ । उक्त बजेट अपुग भएर तीन अर्व ९५ करोड बजेट माग गरिएकोमा एक अर्व मात्रै निकासा भएको थियो । अहिले उक्त एक अर्वबाट काम भइरहेको छ । चालु आवको असार मसान्तसम्म सो रकम अपुग हुने भएकोले फेरि माग गरिएको सिडिई खनालले बताउनुभयो । यद्यपि सरकारबाट आयोजनालाई रकम अभाव नहुने आश्वासन पाएकोले आफूहरु थप बजेट आउनेमा आश्वस्त बनेको उहाँले जनाउनुभयो । २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये भेरी बबई नै धेरै प्रगति भएको आयोजना बनेको छ ।

अहिलेसम्म २५ प्रतिशत प्रगति

आयोजनाले शनिवारसम्म कूल २५ प्रतिशत प्रगति हासिल गरेको बताइन्छ । आयोजनाका सिडिई खनालले शनिवारसम्मको अवस्था हेर्दा भौतिक प्रगति २५ प्रतिशत भएको बताउनुभयो । यस्तै आर्थिक प्रगति पनि २५ प्रतिशत भएको उहाँको भनाइ छ । कामको रफ्तार बढेको हुँदा बजेट र भौतिक प्रगति पनि बढ्दै गएको हो ।

आयोजना सफलभएमा बार्षिक सात अर्व कमाई

उक्त आयोजना सफल भएमा मुलुकले बार्षिक सात अर्व कमाउने प्रक्षेपण गरिएको छ । कृषिबाट तीन अर्व र विद्युतबाट चार अर्व कमाउन सकिने आयोजनाले बताएको छ । उक्त आयोजनाबाट बाँके र बर्दियाका ५२ हजार हेक्टर जमीनमा सिंचाई सुविधा पुग्ने र ४८ मेगावाट विद्युत उत्पादन गरिनेछ । सिडिई खनालले आयोजना सफल भएमा पहिलो पटक प्रयोग भएको टिविएम प्रविधिको सफलता हुने र मुलुकले बार्षिक सात अर्व बढी आम्दानी गर्न सक्ने बताउनुभयो ।
सुर्खेतको भेरी नदीको पानी चिप्लेबाट १२ किमी सुरुङ खनी बबईको हात्तीखालमा ४० घनमीटर प्रतिसेकेण्ड खसालेर विद्युत उत्पादन गरिनेछभने सिंचाई सुविधा पु¥याइनेछ । आयोजनाको लागि करिव १६ अर्व बढी लाग्ने बताइन्छ ।

 

 

प्रकाशित मितिः सोमवार, माघ १५, २०७४     5:46:37 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *