
‘बुहारी शिक्षा कार्यक्रम’ अन्तर्गत कक्षा ८ उत्तीर्णलाई एसईईसम्म र एसईई पास गरेकालाई कक्षा १२ सम्म निःशुल्क पढाइने तथा आवश्यक स्टेसनरी, पोसाक पनि गाउँपालिकाले नै बेहोर्दिने
खोटाङ — पढ्ने रहर हुँदाहुँदै केपिलासगढी गाउँपालिका–३ बास्पानीकी २७ वर्षीया पूजा राईले विद्यालय छोड्नु पर्यो । बिहे गरेलगत्तै पारिवारिक समस्याले पढाइ छाडेकी उनी सात वर्षपछि यतिबेला गाउँकै राष्ट्रिय माविमा कक्षा ९ मा भर्ना भएकी छन् ।
बास्पानीकै २७ वर्षीया शान्तिकला राईले पनि पृथ्वी मावि बाक्सिलामा कक्षा ११ पढ्न सुरु गरेकी छन् । आर्थिक स्थिति कमजोर भएकै कारण २०६९ मा एसएलसी पास गरेर पढाइ छाडेकी उनले ११ वर्षदेखि रोकिएको पढाइलाई निरन्तरता दिन पाएकी हुन् ।
पढ्ने इच्छा हुँदाहुँदै घरायसी समस्यालगायत कारणले पढ्न नपाएका बुहारीहरूलाई निःशुल्क पढाउन केपिलासगढी गाउँपालिकाले ‘बुहारी शिक्षा कार्यक्रम’ सुरु गरेपछि उनीहरूले रोकिएको पढाइलाई निरन्तरता दिन पाएका हुन् । पूजाको ५ वर्षको एउटा बच्चा छ । श्रीमान् शम्भु मिस्त्री काम गर्छन् । उनलाई पढेर केही गर्ने रहर छ । ‘पढ्ने इच्छा हुँदाहुँदै बिहे भयो, गर्भवती भएपछि पढ्न पाइएन,’ उनले भनिन्, ‘यतिबेला गाउँपालिकाले पढाउने भनेपछि केही गरौं भनेर पढ्न सुरु गरेकी छु ।’
शान्तिकलाले गाउँपालिकाले पढाउने भएपछि अपूरो पढाइ सक्न विद्यालय भर्ना भएको बताइन् । कमाइ गर्ने घरमा कोही नभएकाले आफूले पढेर जागिर खाने योजना बनाएको उनको भनाइ छ । उनका श्रीमान् किरण सामान्य खेतीपातीको काम गर्छन् । उनकी ५ वर्षीया छोरी र ८ महिनाको छोरा छ । बिहेपछि पढाइ छाडेकी ३२ वर्षीया पुष्पा विश्वकर्मा पनि पृथ्वी माविमै कक्षा ११ मा भर्ना भएकी छन् । २०६८ मा एसएलसी उत्तीर्ण गरेर पढाइ छाडेकी उनले पनि पढेर केही गर्न कम्मर कसेकी छन् । १२ वर्षीया छोरी रजनी स्थानीय राष्ट्रिय माविमा कक्षा ५ मा र १० वर्षीय छोरा नेल्सन कक्षा ४ मा पढिरहेका छन् । उनका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा ६ वर्षदेखि साउदीमा छन् । बाक्सिालाकी २७ वर्षीया निरा विश्वकर्मा, २७ वर्षीया शर्मिला राई पृथ्वी माविमा कक्षा ९ मा, लक्ष्मी पौडेल कक्षा १२ मा तथा बास्पानीकी दीपा खड्का स्थानीय राष्ट्रिय माविमा कक्षा १० मा भर्ना भएका छन् । उनीहरूले पनि रोकिएको पढाइलाई अहिले पुनः थालेको केपिलासगढी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले बताए । घरायसी समस्यालगायत कारणले पढ्न नपाएका बुहारीहरूलाई पढाउन सुरु गरिएको गाउँपालिका अध्यक्ष समीर राईले बताए । अध्यक्ष राईका अनुसार यसै शैक्षिक सत्रबाट लागू हुने गरी २०७९/८० को नीति तथा कार्यक्रममा बुहारी शिक्षा कार्यक्रम पारित गरिएको थियो ।
‘बुहारी शिक्षा कार्यक्रम’ अन्तर्गत कक्षा ८ उत्तीर्ण बुहारीलाई एसईईसम्म र एसईई पास गरेकालाई कक्षा १२ सम्म पढाइनेछ । उनीहरूका लागि लाग्ने सम्पूर्ण अध्ययन शुल्क, स्टेसनरी र पोसाकसमेत गाउँपालिकाले उपलब्ध गराउने अध्यक्ष राईले बताए । ‘घरायसी समस्यादेखि विभिन्न कारणले पढ्न नपाएका बुहारीहरूलाई गाउँपालिकाले पढाउन सुरु गरेको छ,’ राईले भने, ‘यो वर्ष सात जनाले भर्ना गर्नुभएको छ, पढ्न इच्छुकलाई गाउँपालिकाले पढाउँछ ।’
साभार: ekantipur