Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा प्रक्रिया पुरा नगरि विज्ञापन

  |  297 Views

असार १८, सुर्खेत । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा प्रक्रिया पुरा नगरि विज्ञापन गरिएको पाइएको छ । पाँचौं तहका करारमा रहेका इन्जिनियरलाई दुई तह बढुवा गरी स्थायी बनाउनका लागि १५ दिन अगाबै सूचना प्रकासित गर्नेपर्ने प्रावधान रहेपनि त्यस विपरित संस्थाले अन्तिम दिनको साँझमात्र टाँस गरेपछि रहस्य खुलेको हो ।

उक्त विज्ञापन त्रुटिपूर्ण भएको भन्दै खारेज गर्न र परमादेश जारी गर्न स्किम समितिका पदाधिकारीहरुले उच्च अदालत सुर्खेतमा मंगलवार रिट निवेदन दर्ता गरेका छन् । संस्थाको मूलसमितिको गत जेठ ३२ गते भएको बैठकमा कर्मचारीहरुलाई ज्यालादारीमा रहेकालाई करारमा, करारमा रहेकालाई स्थायी गर्ने सहमतिका आधारमा बढुवा नभएकालाई बढुवा गर्ने लगायतको निर्णय भएको थियो । त्यसका लागि अध्यक्ष कूलमणि देवकोटाको अध्यक्षतामा ओमदत्त रेग्मी सदस्य र कार्यालय प्रमुख डम्मर गौतम सदस्य सचिव रहेको तीन सदस्यीय पदपूर्ति समिति पनि गठन गरिएको थियो ।

पदपूर्ति समितिमा छलफल र निर्णय विना नै असार १४ गते साँझ एकाएक सूचना टाँस गरिएकोले आफ्नो मान्छे राख्न यस्तो प्रपञ्च रचिएको आरोप लगाइएको छ । एक महिने सूचनाको म्यादलाई एकाएक कार्यविधि सच्याएर १५ दिनमा झारिएको थियो । असार १५ गते म्याद सकिने सो विज्ञापन असार १४ गते साँझ मात्र टाँस गरेर आफ्नो मान्छे राख्न अध्यक्ष देवकोटाले यस्तो हर्कत गरेको एक सदस्यले बताए ।

करारमा कार्यरत इन्जिनियर बालाराम तिवारीलाई एकैपटक दुई तह बढुवा गरी स्थायी बनाउन प्रक्रिया मिचिएको बताइन्छ । तिवारी अध्यक्ष देवकोटाका साला हुन् । पदपूर्ति समितिको माइन्युटमा सदस्य रेग्मी र सदस्य–सचिव गौतमले हस्ताक्षर गरेका छैनन् ।

यता, स्किम समितिका पदाधिकारीहरुले संस्थाले विधि र नियम मिचेर विज्ञापन खोलिएको भन्दै परामादेशको माग गरी मंगलवार उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता गराएका छन् । शिवप्रसाद गौतम, कूलबहादुर खत्री र धनबहादुर मल्लले परमादेशलगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गर्न भन्दै उच्च अदालतमा रिट निवेदन दिएका छन् । शिवप्रसाद गौतमले एक तह बढुवाको सहमतिमा टेकेर अध्यक्ष देवकोटाले आफ्नो मान्छे राख्न नियम र प्रक्रिया मिचेको आरोप लगाए ।

१५ दिनको सूचनालाई १४ औं दिनको साँझ टासेर अरुलाई दर्खास्त दिन बञ्चित गराउने नियत देखिएकोले उक्त विज्ञापन रद्दको माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गराएको उनले जनाए । उनले यदि विज्ञापन नै सार्वजनिक गर्ने भए सवैले थाहा पाउने गरी खुल्लारुपमा आव्हान गर्नुपर्ने बताए । पदपूर्ति समितिका सदस्य ओमदत्त रेग्मीले पनि केही नियम र प्रक्रिया मिचिएको बताए ।

उनले आफूले माइन्युटमा हस्ताक्षर नगरेको जानकारी दिदैं प्रक्रिया र विधि अनुसार नै काम हुनुपर्ने पक्षमा रहेको उल्लेख गरे । रिटमा पदपूर्ति समितिका सदस्य–सचिव उपस्थित हुनुपर्ने, पदपूर्ति गर्दा विज्ञापनदेखि सिफारिससम्म विशेषज्ञलाई आमन्त्रित गर्नुपर्ने स्पष्ट उल्लेख हुँदा त्यसो नभएकोले उक्त विज्ञापन त्रुटिपूर्ण भएको दावी पनि गरिएको छ ।

संस्थाका अध्यक्ष कूलमणि देवकोटालाई यसवारेमा बुझ्नका लागि बारम्बार सम्पर्क गर्दा उनको फोन रिसिभ हुन सकेन । उपाध्यक्ष दिपे सार्कीले आफूले विज्ञापनको वारेमा सवै जानकारी लिन नपाएको र विधि मिचेर विज्ञापन खोलिएको भए त्यो त्रुटिपूर्ण भएको बताउँछन् । उनले पदपूर्ति समितिलाई जिम्मा दिएपनि कुनै निर्णय हुन नसकेकोले कसैले पनि विधि र प्रक्रिया मिच्न नहुने उल्लेख गरे ।

Bulbule
प्रकाशित मितिः बुधबार, असार १८, २०७६     9:22:56 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *