Loading... 13 November 2019|   बुधबार, कार्तिक २७, २०७६   

बैंक अनुदार भए कठोर बन्ने व्यापारीको चेतावनी

  |  550 Views

सुर्खेत, फागुन २ । व्यापारी व्यवसायीसंग नंग र मासुजस्तै सम्बन्ध राख्नुपर्ने बैंक तथा वित्तीय संस्थाहरु व्यापारी व्यवसायविरुद्ध अनुदार र कठोर हुँदै गएको भन्दै सुर्खेतका व्यापारीहरुले तीव्र असन्तुष्टि जनाएका छन ।
सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा विहीबार वीरेन्द्रनगरमा भएको बैंकसंगको अन्तरक्रिया कार्यक्रममा सहभागीले बैंकहरु कठोर हुँदै गर्दापनि राज्यका निकाय मूकदर्शक बनेको गुनासो गरेका हुन ।

राज्यको अकर्मण्यताकै कारण व्यापारी व्यवसायी चौतर्फी चपेटामा पर्दै गएको भन्दै व्यापारीहरुले वित्तीय संस्थाहरु कठोर बने आपूmहरुपनि कठोर बन्ने चेतावनी समेत दिएका छन ।

संघका अध्यक्ष धनबहादुर रावतले सबैखाले आन्दोलन समाप्त गरेर आर्थिक समृद्धिको यात्रामा रहेका बेला बैंकहरुले व्यापारी व्यवसायीलाई फेरि आन्दोलनमा जान बाध्य बनाएको टिप्पणी गर्नुभयो ।

बैंक र व्यापारी दुबैले व्यापार नै गर्ने भएको हुँदा दुबैको सम्बन्ध निरन्तर सुमधुर हुनुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो, हामी व्यापार गरेर बस्न चाहन्छौं, हामीलाई आन्दोलनमा जान बाध्य नपारियोस् ।

निजी क्षेत्र नै कुण्ठित र संकुचित हुने गरी बैंक ब्याज बढाएर मात्र दीर्घकालीन आर्थिक समृद्धि नहुने भन्दै अध्यक्ष रावतले अभिभावकका रुपमा रहेको राज्यले निजी क्षेत्रको पिरमर्कापनि बुझिदिनुपर्ने उल्लेख गर्नुभयो ।

संघका महासचिव लक्ष्मण कंडेलले बैंकहरुले मुद्दति खातामा धेरै ब्याज दिने प्रलोभन देखाएर बैंकमा पैसा थुपार्दा त्यसको प्रत्यक्ष मारमा व्यापारी परेको दाबी गर्नुभयो । बैंक र राज्यका ढुकुटीमा पैसा थुपारेर मात्र अर्थतन्त्र नउकासिने भन्दै उहाँले अर्थतन्त्रलाई उकालो लगाउन चलायमान बनाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

संघका कोषाध्यक्ष भद्र भण्डारीले आर्थिक तरलता र अन्य कुनैपनि किसिमको समस्या र प्राकृतिक प्रकोप समेत नभएको अवस्थामा एकाएक व्याजदर वृद्धि गर्नु अस्वभाविक भएको टिप्पणी गर्नुभयो । एकअर्काका समस्या समाधानमा परिपूरकका रुपमा रहनुपर्ने बैंकहरु आप्mना ग्राहकप्रति लचिलो हुनुपर्ने जिकिर गर्दै उहाँले आपसी सम्बन्ध तिक्ततापूर्ण हुन नहुनेमा जोड दिनुभयो ।

संघका पूर्व महासचिव गोपालकृष्ण गिरीले बैंकहरुको संख्या बढेसंगै सेवासुविधा र सहुलियत वृद्धिमा होडबाजी हुनुपर्नेमा ब्याज वृद्धिमा प्रतिष्पर्धा भइरहेको भन्दै असन्तुष्टि पोख्नुभयो ।

पूर्व उद्योग उपाध्यक्ष वासुदेव शर्माले चर्को ब्याजदरका कारण व्यापार व्यवसाय चौपट भए त्यसको असर बैंकलाई पनि पर्ने भन्दै एकअर्काको सुरक्षाको सवालमा दुबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

संघका सचिव रामप्रसाद पाण्डेले गार्हो सार्हो परेकै कारण आप्mना घरजग्गा धितोधरौटी गरेर ऋण लिएर व्यापार गर्ने व्यापारीलाई चर्को ब्याजदरले उठिवास लगाउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैंकर्स एशोसियन सुर्खेतका अध्यक्ष पदम धानुकले व्यापारीले बेच्ने सामानको मूल्य समयक्रमसंगै बढेजस्तै बैंकको ब्यादरपनि समयसापेक्ष रुपमा बढिरहेको तर्क गर्नुभयो । बैंकको ब्याजदर घटाउने बढाउने अधिकार शाखा प्रबन्धकलाई नभएको उल्लेख गर्दै व्यापारीका गुनासालाई माथिल्लो निकायसम्म पुर्याउने गरी माध्यमका रुपमा काम भने गर्नसकिने जिकिर गर्नुभयो ।

यस्तै,ज्योति विकास बैंकका प्रबन्धक गंगाप्रसाद न्यौपानेले मिटर ब्याजको प्रलोभनमा बैंकभन्दा बाहिर अनौपचारिक आर्थिक ढंगले आर्थिक कारोवार सञ्चालन गरिएका कारण समस्या आएको तर्क गर्नुभयो ।

कार्यक्रममा कार्य समिति सदस्य कपिलमणि सुवेदी, भीमप्रसाद पौडेल वस्तुगत समितिका अध्यक्ष योगेश केसी. खड्ग ढकाल, सुनचाँदी वस्तुगत समितिका उपाध्यक्ष सन्तोष बराइलीलगायतले मनपरी रुपले ब्याज बढाइएको भन्दै विरोध जनाउनुभयो ।

Bulbule
प्रकाशित मितिः बिहीबार, फागुन २, २०७५     5:03:07 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *