Loading... 19 November 2019|   मंगलबार, मंसिर ३, २०७६   

पूर्वराजा ज्ञानेन्द्र र वीरेन्द्रले गोप्य भेटघाट गर्ने कक्ष खुल्दै

  |  302 Views

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र र स्वर्गिय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनितिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालय अन्तर्गत गणेश हिमाल तर्फका ९ वटा कक्ष खुल्ने भएको छ ।

लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो । देशमा विषम परिस्थिति हुदा पूर्वराजा ज्ञानेन्द्रले समेत गणेश हिमाल तर्फका विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्ने गरेका थिए । पूर्वराजा वीरेन्द्रको वंशनासपछि केही समय नारायणहिटी राजदरबारबाट शासन संचालन गर्दा पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल तर्फका विभिन्न कक्षमा कुटनितिक नियोग र राजनीतिक व्यक्तिलाई भेट गर्ने गरेका थिए ।

कार्यालय समयपछि खुला हुने ती कक्षमा गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो । गणेश हिमाल कक्ष नजिक गोप्य रुपमा सवारी साधन प्रवेश गरेपछि कुन समयमा को संग भेटघाट गर्ने भन्ने विषय अन्य कसैलाई जानकारी हुँदैन थियो ।

निजी तर्फका दुई –तीन निजी कर्मचारी बाहेक पूर्वराजाले को संग भेट गरे भन्ने विषयमा भन्ने समेत जानकारी नहुने गरी गोप्य रुपमा ती कक्षहरु प्रयोग हुँदै आएको थियो ।

वीरेन्द्रले प्रयोग गरेका सबै कक्ष पूर्वराजा ज्ञानेन्द्रले प्रयोग गरेका थिए । देशमा २०६२–२०६३ सालको आन्दोलन चर्किएको बेला पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल कक्षको विभिन्न कोठामा विभिन्न निकायका उच्च राजनितिक दलका नेता,कुटनीतिक नियोगका प्रमुख,राजदूत लगायतका उच्च अधिकारीसंग विशेष भेटघाट गर्ने गरेका थिए । विभागले यही मंसिर ९ गते पूर्व राजाका अति गोप्य बैठक कक्ष खुला गर्ने भएको छ ।

गणेश हिमाल तर्फको सप्तरी, सुनसरी, सिराहा, धनुषा, पर्सा, कपिलवस्तु, झापा, इलाम र सिन्धुली, कक्ष खुला गर्ने भएको छ । ‘हामी रंग रोगन गरी सामग्री सजाउने काममा लागेका छौ‘–नारायणहिटी संग्रहालयका प्रमुख अद्धैतप्रकाश श्रेष्ठले भने–बांकी जानकारी कक्ष खोलेपछि गरौंला ।

खोलिने तयारीमा रहेका कक्ष मध्य झापा र इलाम कक्षमा पूर्व राजाको अति गोप्य भेटघाटको रुपमा प्रयोग गरिन्थ्यो । पुर्वराजाले ती कक्षहरुमा आफ्ना केही निजी कर्मचारी बाहेक अन्यलाई प्रवेशमा पूर्ण रोक लगाइएको थियो ।

हाल खुल्न लागेको कक्षहरु मध्य केही पूर्वराजाले कार्यालय समय पछि मात्र खोल्ने र भेटघाट गर्न प्रयोग गर्ने गरेका थिए । इलाम कक्षमा पुर्वराजाले हरेक हप्ताको बिहीबार प्रधानमन्त्रीसंग गोप्य भेटघाट गर्ने गरेका थिए ।

ती मध्ये सुनसरी कक्षमा छाँया दर्शन गर्ने र जनैपुर्णिमा रक्षा बन्धन लगाउन प्रयोग गरिन्थ्यो । खोल्ने तयारीमा रहेको सिन्धुली कक्ष स्वर्गिय रानी एश्वर्याको श्रृंगार र पोशाक कक्षको रुपमा प्रयोग गरिएको थियो । सप्तरी कक्षमा पुर्व राजा स्व वीरेन्द्र र ज्ञानेन्द्रको जन्मोत्सवमा आमा रत्नलाई संगै राखेर भोजन गराउने कक्ष हो । सिराहामा आराम गर्ने र धनुषामा खाना खाएपछि आराम गर्ने कक्ष रहेको संग्रहालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

नारायणहिटी संग्रहालय खुलेको करिब एक दशक पछि थप ९ वटा कक्ष सहित २४ कक्ष खुला भएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरे लगत्तै २०६५ फागुन १५ देखि संग्रहालयका रुपमा सर्वसाधारणका निम्ति खुला गरिएको थियो ।

७ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी सग्रहालय भने दरवारले ३ सय १८ रोपनी क्षेत्रफलमा मात्रै सिमित छ । राजा पृथ्वी वीरबिक्रम शाहको शासनकालमा तत्कालिन राणा प्रधानमन्त्री रणोद्धिप शाहको कार्यकालमा निर्माण भएको नारायणहिटी दरबार विसं १९९० सालमा भुकम्पले क्षति पुर्याएको थियो ।

पछि तत्कालिन राणा प्रधानमन्त्री वीर शमसेरको कार्यकालमा हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो । विसं २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण भएको थियो । तत्कालिन राजा महेन्द्रको शासनकालमा नारायणहिटी दरबार पुनर्निमाण गरिएको थियो ।

राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्र सम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यको जन्मेको सो भवनमा रहेका सबै कक्ष खुला गर्न अझै केही वर्ष लाग्ने संग्रहालय प्रशासनले जनाएको छ । (नेपाल समाचारपत्रबाट)

Bulbule
प्रकाशित मितिः मंगलबार, मंसिर ४, २०७५     8:24:48 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *