Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

१७ शैयाको फिस्टुला अस्पताल उद्घाटन

  |  329 Views

सुर्खेत, ५ असोज ।
सुर्खेतको वीरेन्द्रनगरमा १७ शैयाको फिस्टुला अस्पताल सञ्चालनमा आएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र पौने ६ करोडको लागतमा निर्माण भएको फिस्टुला केन्द्रको शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

फिस्टुला केन्द्र बिएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो । उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नम्बर ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलाहरुलाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इन्चार्ज कृपा चौधरीले बताईन् । अहिलेसम्म फिस्टुला अस्पताल धरान र काठमाडौंमा मात्रै थियो ।

सुर्खेतमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गरेर फिस्टुलाको अप्रेसन गर्ने गरिएको थियो । यो अवधिमा २ सय ५० जनाले शिविरमार्फत लाभ लिएका थिए । आईएनएफले जिल्लामा प्रत्येक वर्ष फिस्टुलाको शिविर सञ्चालन गर्ने गरेपनि नियमित उपचारका लागि भने विरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । ‘अब आफ्नै भवनबाट दैनिक रुपमा विषशेज्ञ सेवा दिइनेछ,’ इन्चार्ज चौधरीले भनिन्, ‘फिस्टुलाको उपचार निःशुल्क हुने हुँदा गरिब तथा असहाय विरामीलाई झनै सहयोग पुग्ने छ ।’ उनका अनुसार फिस्टुलाको विरामी र कुरुवालाई आउन जान लाग्ने खर्च र उपचार निःशुल्क गर्ने व्यवस्था छ ।

क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका विरामी उपचारका लागि धरान र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए । विरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुलाका विरामी कति छन् भन्ने एकीन तथ्याङ्क भने छैन ।

के हो फिस्टुला ?

बच्चा जन्माउँदा लामो प्रसव बेथाका कारणले महिलाको पिसाब थैली र यौनीद्धारमा प्वाल परी पिसाब चुहिने समस्यालाई फिस्टुल भनिन्छ । योनीबाट निरन्तर रुपमा पिसाव वा दिसा पिसाव दुबै चुहिने समस्या फिस्टुला प्वाल भएमा हुन्छ ।

बच्चा जन्माउने व्यथा लामो हुँदा बच्चाको टाउको योनिमार्गमा धेरै समयसम्म रही टाउकोले थिचेको योनिमार्गको भागमा रक्तसञ्चार बन्द भई बन्द भएको भाग मर्न गएमा कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ । त्यस्तो प्वाल पिसाव थैली र योनीमार्गको बिचमा परेको छ भने योनीमार्गबाट निरन्तर पिसाव चुहिरहन्छ ।

फिस्टुला भएका महिलाहरु दोहोरो तेहरो पीडा भोग्न बाध्य हुन्छन् । फिस्टुला लामो र कठिन प्रसव पीडाको कारणले हुने हुँदा फिस्टुला हुने स्थितिसम्म आएका महिलाहरुको बच्चाको पनि नजन्मदै मृत्यु भइसकेको हुन्छ । फिस्टुला उपचारमार्फत निको हुने समस्या हो ।

Bulbule
प्रकाशित मितिः शुक्रबार, असोज ५, २०७५     6:24:57 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *